मा. दिनेश कुमार थपलिया

मा. दिनेश कुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त मा. दिनेश कुमार थपलिया 

संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं. ८, रातमाटे पाठकगाउँमा पिता स्व. लक्ष्मीप्रसाद थपलिया र माता डम्बरकुमारी थपलियाको कोखबाट जन्मनु भएका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया कानून, व्यवस्थापन र शिक्षामा स्नातक तथा जनप्रशासनमा स्नातकोत्तर हुनुहुन्छ ।

करिब ३५ वर्षको सरकारी सेवापछि प्रमुख निर्वाचन आयुक्तमा नियुक्त हुनु भएको उहाँले वि.सं. २०४७ सालमा निजामती सेवामा प्रवेश गर्नु भएको हो । त्यस अघि उहाँले वि.सं. २०४० सालदेखि सवओभरसियर र ओभरसियर पदमा संखुवासभा, मनाङ र रसुवा जिल्लामा काम गर्नु भएको थियो । उहाँले आफ्नो निजामती सेवाको झण्डै दुईतिहाई अवधि संघीय मामिला तथा  स्थानीय विकास मन्त्रालय अन्तर्गत रही काम गर्नु भएको छ । यस क्रममा काठमाडौं र बिराटनगर महानगरपालिकामा कार्यकारी अधिकृत तथा इलाम र चितवन जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हाल्नु भएको थियो । उक्त मन्त्रालयमा रहँदा विभिन्न शाखाको प्रमुख एवं योजना तथा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ता भई काम गरेको अनुभव छ, उहाँसँग ।  वि.सं. २०५४ सालमा जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा रहँदा स्थानीय निकायको दोश्रो निर्वाचन कुशलतापूर्वक सम्पन्न गर्नु भएको उहाँले श्रम मन्त्रालय, राष्ट्रिय योजना आयोग, सूचना तथा संचार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा रही कार्य सम्पादन गर्नु भएको छ ।  निजामती सेवाको विशिष्ट श्रेणीको पदमा पदोन्नति भएपछि उहाँले पश्चिमाञ्चल विकास क्षेत्रमा क्षेत्रीय प्रशासक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव भई कार्य सम्पन्न गरिसक्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त हुनुभन्दा अघि उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदबाट सेवा निवृत्त हुनु भएको हो । उक्त मन्त्रालयमा रही स्थानीय तहको पुुनर्संरचना, संघ, प्रदेश र स्थानीय तहको संगठन विकास र जनशक्ति व्यवस्थापन, कर्मचारी समायोजन तथा संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन सम्बन्धी कानून तर्जुमा जस्तो महत्वपूर्ण कार्यमा उहाँको उल्लेखनीय भूमिका रहेको थियो ।

सार्वजनिक प्रशासन, विकास व्यवस्थापन, विकेन्द्रीकरण, स्थानीय स्वशासन र संघीय मामिला, प्रशासनिक पुनर्संंरचना, संगठन विकास र जनशक्ति व्यवस्थापन, सहभागितामूलक योजना र नागरिक सहभागिता, स्थानीय श्रोत परिचालन र व्यवस्थापन, बालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानीय शासन, सामाजिक समावेशीकरण र लैंगिक विकास, संस्थागत सुधार र क्षमता अभिवृद्धि, स्थानीय विकास र सामुदायिक सशक्तिकरण आदि उहाँका विशेष कार्यक्षेत्रहरु रहेका छन् ।

 

उहाँले स्वेदश तथा विदेशका विभिन्न तालिम, अध्ययन भ्रमण, सेमीनार, गोष्ठी, कार्यशाला आदिमा सहभागी भई नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व समेत गर्नु भएको छ । हालसम्ममा नेपालको बाजुरा जिल्ला बाहेक सबै ७६ जिल्लाहरुको भ्रमण गर्नु भएका माननीय प्रमुख निर्वाचन आयुक्त श्री थपलियाले विदेशमा जापान, श्रीलंका, थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर, फिलिपिन्स, चीन, इन्डोनेसिया, दक्षिण कोरिया, लाओस्, कम्बोडियो, बंगलादेश, भियतनाम, कतार, संयुक्त राज्य अमेरिका, क्यानाडा, ब्राजिल, फ्रान्स, बेलायत, रुस, स्वीट्जरल्याण्ड, जर्मनी, टर्की, इस्टोनिया, इटली, फिनल्याण्ड, मोरक्को, ग्रीस, दक्षिण अफ्रिका, युगाण्डा, इथियोपिया आदि देशको भ्रमण गर्नु भएको छ ।

 

वि.सं. २०५९ सालमा प्रकाशित “नेपालमा विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासन उपलब्धी र चुनौती” उहाँको पहिलो कृति हो । विभिन्न पत्रपत्रिका, मुखपत्र, स्मारिका, आदिमा विकेन्द्रीकरण, योजना प्रशासन, विकास र नागरिक सशक्तिकरण सम्बन्धी दर्जनौं लेख रचना प्रकाशित छन् । अध्ययन, लेखन, कला, साहित्य एवं गीत संगीतमा विशेष रुचि राख्नु हुने माननीय प्रमुख निर्वाचन आयुक्त श्री थपलियाद्वारा लिखित आधुनिक एवं जागरण गीतका थुप्रै म्यूजिक भिडियोहरु लोकप्रिय रहेका छन् । उहाँले विभिन्न वौद्धिक पत्रिका एवं म्यागजीनहरुको सम्पादन गर्नुका साथै लोक सेवा आयोगका पाठ्यक्रमहरुमा आधारित पुस्तक तथा लेख रचनाहरु प्रकाशित गर्नु भएको छ । उहाँ विशेषतः संघीय मामिला, विकेन्द्रीकरण एवं स्थानीय स्वशासन विज्ञको रुपमा परिचीत हुनुहुन्छ । उहाँका श्रीमती र दुई छोराहरु हुनुुहुन्छ । श्रीमती बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ भने जेष्ठ छोरा चिकित्सा क्षेत्र र कनिष्ठ छोरा इन्जिनियरिङ क्षेत्रसँग संलग्न हुनुहुन्छ ।


 

Feedback