निर्वाचन सम्पर्क व्यक्तिहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम, २०७८

 
निर्वाचन आयोगको आयोजनामा मिति २०७८ कार्तिक ७ र ८ गते काभ्रेपञ्लाचोकको धुलिखेलमा  सञ्चालन भएको प्रदेश तथा स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । 
आयोगको तेश्रो पञ्चवर्षिय रणनीतिक योजनामा उल्लेख भए अनुसार प्रदेश तथा स्थानीय तहसँंग आयोगको समन्वयलाई प्रभावकारी बनाई आयोगले स्थानीय स्तरमा सञ्चालन गर्ने मतदाता दर्ता, निर्वाचन शिक्षा तथा निर्वाचन व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग प्राप्त गर्न स्थानीय स्तरमा कार्यरत कर्मचारीहरुमध्येबाट निर्वाचन सम्पर्क व्यक्ति तोकी प्रदेश तथा स्थानीय तहको सम्बन्धलाई दरिलो पार्दै लैजाने नीति अनुरुप उनीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तहगत प्रशिक्षण प्रारम्भ गर्न लागिएको छ । 
 
उक्त कार्यक्रमको उद्घाटन तथा समापन माननीय निर्वाचन आयुक्त डा.जानकी तुलाधरज्यूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा माननीय निर्वाचन आयुक्तज्यूले निर्वाचन सम्बन्धी गतिविधिमा प्रदेश तथा स्थानीय स्तरमा सम्पर्क तथा समन्वयको लागि सबै प्रदेश तथा स्थानीय तहमा निर्वाचन  सम्पर्क व्यक्ति तोक्ने कार्य सम्पन्न भएको बताउनु हुँदै  निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यमा निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सहजीकरण मार्गदर्शन स्रोत पुस्तिका समेत तयार पारी प्रशिक्षण कार्यक्रम तहगतरुपमा सञ्चालन गरिने व्यहोरा समेत अवगत गराउनुु भयो । 
आयोगका सचिव श्री सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई तालिममा प्राप्त ज्ञान र सीपलाई कुशलतापूर्वक ग्रहण गरी प्रदेश तथा जिल्लामा हुने प्रशिक्षण कार्यमा दक्ष प्रशिक्षकको भूमिका निर्वाह गर्न सक्षम हुने अपेक्षा राख्दै आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा सञ्चालन गरिने निर्वाचनका गतिविधिहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोगका सहसचिव श्री शालीग्राम शर्मा पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । कर्यक्रममा निर्वाचन आयोगको साझेदार संस्था युएनडिपि इएसपीका वरिष्ट निर्वाचन सल्लाहकार श्री कुन्दन दास श्रेष्ठले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य दिनुभयो । उक्त कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका जिल्ला निर्वाचन अधिकारी श्री उमेश कुमार राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आयोगका उपसचिव श्री सूर्यप्रसाद अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा निर्वाचन आयोगका अधिकृत स्तरका कर्मचारीहरु तथा आयोगका विकास साझेदार संस्था युएनडीपी इएसपी, आर्ईएफइएस नेपालका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।
Feedback